काठमाडौँ —
वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले तिर्ने मूल्यवृद्धि दर पछिल्ला महिनामा उकालो लाग्न थालेको छ । सोही क्रममा गत जेठसम्म औसत मूल्यवृद्धि दर ५.२२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको जेठको तुलनामा यस वर्षको सोही अवधिमा मूल्यवृद्धि दर २.५ प्रतिशत विन्दुले बढी हो । गत वर्षको जेठमा यस्तो मूल्यवृद्धि दर २.७२ प्रतिशत थियो ।
२०८२ असारदेखि मंसिरसम्म मूल्यवृद्धि दर एकदेखि दुई प्रतिशत हाराहारीमा थियो । पुसदेखि लगातार बढ्न थालेको मूल्यवृद्धि वैशाखमा ५.०४ प्रतिशत पुगेको थियो । जेठमा थप अकासिएर ५.२२ प्रतिशत पुगेको हो ।
पछिल्ला महिनामा मूल्यवृद्धिको चुनौती बढ्दै गएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । आपूर्तिजन्य कारणले मूल्यवृद्धिमा दबाबमा देखिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख सत्येन्द्र तिमिल्सिनाले स्वीकार गरे । ‘एक साताअघि मौद्रिक नीतिसँगै जारी बृहत् अर्थतन्त्रसम्बन्धी प्रतिवेदनको आर्थिक परिदृश्य उल्लेख भएझैं पछिल्ला महिनामा आपूर्तिजन्य कारणले मूल्यमा केही दबाब देखिएको छ,’ उनले भने






