
काठमाडौँ — सत्तारूढ रास्वपाको पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित सभापति रवि लामिछानेले १२ असारमा भरतपुरमा शपथ लिए । काठमाडौं फर्किएर कार्यभार सम्हाले । महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीलाई उनले १७ असारमा केन्द्रीय कार्यालय ‘घण्टीघर’मा शपथ गराए । तर मनोनयनमा ‘भागबन्डा’ मिल्न नसक्दा केन्द्रीय समिति र पदाधिकारी अझै अपूर्ण छ । जबकि, महाधिवेशनस्थलमै मनोनीतको टुंगो लगाएर सामूहिक तस्बिर खिच्नेसम्मको योजना तय थियो ।
रास्वपाका सभापति र ९९ केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित भए । उनीहरू निर्वाचित भएको घोषणा रास्वपा केन्द्रीय निर्वाचन आयोगले १२ असारमा चितवनमै गरेको थियो । रास्वपाको विधानअनुसार ‘पार्टीको सर्वोच्च कार्यकारी निकायका रूपमा १५८ (१५० केन्द्रीय सदस्य, ७ प्रदेश सभापति पदेन केन्द्रीय सदस्य र १ पार्टी सभापतिसमेत) सदस्यीय रहनेछ ।’ पार्टी सभापतिले मनोनीत गर्ने ५१ केन्द्रीय सदस्यको सिट भने अझैसम्म खाली छ ।
मनोनयन गर्ने वरिष्ठ नेतासहित १२ पदाधिकारी पद रिक्त छन् । वालेन्द्र शाह पक्षका नेताहरूका अनुसार सभापतिले मनोनीत गर्ने ५१ केन्द्रीय सदस्यमा आफ्नो पक्षबाट कति जनालाई सिफारिस गर्ने भन्ने निश्चित नहुँदा नाम दिन ढिलाइ भएको हो । मनोनयनबाट आउने ५१ केन्द्रीय सदस्यको आधा संख्या (कम्तीमा २५ जना) आफूले सिफारिस गरेका व्यक्तिलाई मनोनीत गर्नुपर्ने माग वरिष्ठ नेता शाह पक्षले सभापति लामिछानेसमक्ष राखेको विगतमा शाहको निकट रहेर काम गरेका एक नेता बताउँछन् ।
‘वरिष्ठ नेताको पक्षबाट मनोनीत हुनेमा अलि बढी प्रस्ताव भएका छन्, आधाजस्तो माग भएकाले कति जनालाई गर्ने भनी सभापतिले भन्नुहुन्छ, त्यसअनुसार सिफारिस हुन्छ, अहिलेसम्म वरिष्ठ नेताले कसैको नाम पनि सिफारिस गर्नुभएको छैन, संख्या टुंगो नलागेर होला,’ उनी भन्छन् ।






