काठमाडौँ ।अहिले चक्रपथको सामाखुशी–कलंकी सहायक लेन (सर्भिस लेन) हुँदै यात्रा गर्ने जो–कोहीलाई आफू सडकमा होइन, पार्किङ क्षेत्रमा पुगेको जस्तो अनुभव हुन्छ । काठमाडौंको कोर क्षेत्रलाई घेरिएको २७ किलोमिटर लामो चक्रपथको दोस्रो खण्डअन्तर्गत सामाखुशी–कलंकी सडकमा सवारीसाधनको अव्यवस्थित पार्किङका कारण सहायक लेनमै आवतजावत गर्न समस्या भइरहेको छ ।
चक्रपथको पहिलो खण्ड (कोटेश्वर–कलंकी) विस्तार सम्पन्न भएको आठ वर्ष बितिसक्दा पनि दोस्रो खण्ड कलंकीदेखि बसुन्धरासम्म चीन सरकारको सहयोगमा विस्तार गर्ने योजना अझै कार्यान्वयनमा आउन सकेको छैन । बसुन्धरादेखि नारायणगोपाल चोकसम्म करिब ६ सय मिटर सडक खण्डमा पर्ने घर–टहरा हटाउने विषयमा देखिएको समस्या समाधान हुन नसक्दा विस्तारको काम अघि बढ्न सकेको छैन ।
_726xJZvJ5w.jpg)
सडक विस्तारमा ढिलाइ भइरहेका बेला चक्रपथको बाहिरी क्षेत्रमा सञ्चालित पसल तथा व्यवसायले सहायक लेनलाई पार्किङ र सामान लोड–अनलोड गर्ने स्थानका रूपमा प्रयोग गरिरहेका छन् । यसका कारण सवारी आवागमन प्रभावित हुँदै आएको छ ।
विशेषगरी हलचोक–स्वयम्भू क्षेत्रमा रहेका ट्रान्सपोर्ट कम्पनी, ग्यारेज तथा गोदामले ठूला मालवाहक सवारी पार्किङका लागि सहायक लेन नै प्रयोग गरिरहेका छन् । कतिपय स्थानमा पुराना तथा बिग्रिएका सवारीसाधन र विभिन्न सामग्री थुपारिँदा सहायक लेन झन् साँघुरिएको छ ।
दोस्रो खण्डको सडक विस्तारलाई लक्षित गरी सरकारले केही वर्षअघि चक्रपथ क्षेत्रमा तारबार समेत गरेको थियो । तर अहिले धेरै स्थानमा त्यसको नामोनिसान छैन । तारबार हटाइएका ठाउँमा सवारीसाधन पार्किङ गरिँदा पनि सम्बन्धित निकाय र ट्राफिक प्रहरीको प्रभावकारी निगरानी देखिएको छैन ।






