काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन् । ६८औँ संसद् दिवसका अवसरमा मंगलबार (असार १६) सिंहदरबारमा आयोजित एक कार्यक्रममा उनले जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई संकटमा पार्न नहुनेमा जोड दिएका हुन् ।
नेतृत्वको आफ्नै अकर्मण्यता र सोचको अपरिपक्वताका कारण शासकीय स्वरूपमाथि प्रश्न उठाउन थालिएको उनले टिप्पणी गरे । सात प्रदेश र तीन तहको स्थानीय सरकारसहितको वर्तमान शासकीय ढाँचा नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त भएको भन्दै उनले यसलाई कुनै पनि लहर, आवेग वा उत्तेजनाका भरमा अनिर्णयको बन्दी बनाउन नहुने बताए ।
ऐतिहासिक निष्कर्षका रूपमा रहेको वर्तमान व्यवस्थाप्रति संशय पैदा गर्नु गलत भएको उनले धारणा राखे ।
भीष्मराज आङ्देम्बेको भनाइ पढ्नोस्–
आज हामी त्यही शासकीय स्वरूपमाथि धावा बोल्ने ठाउँतर्फ फर्किएर गएको जस्तो अनुभूति गरिरहेका छौँ । त्यो राम्रो कुरा होइन । शासकीय स्वरूपलाई हाम्रो अकर्मण्यता, हाम्रो सोचको अपरिपक्वता र हाम्रो कमजोरीको दोष थोपर्न थाल्यौँ । त्यसलाई नबुझीकन, अभ्यास नै नगरीकन त्यसप्रति प्रश्न उठाउन थाल्यौँ । त्यो राम्रो कुरा हुँदैन । त्यसैले आज हामीहरूले जनतालाई यसको वास्तविक अनुभूति गराउने ठाउँमा पुर्याउनका निम्ति, जसरी शासकीय स्वरूपअन्तर्गत सातवटा प्रदेशको परिकल्पना गरेका छौँ र तीन तहको सरकारको संरचना परिकल्पना गरेका छौँ, त्यसमा कुनै लहर, आवेग वा उत्तेजनाले प्रभाव पार्नु हुँदैन । जनताको रगत र बलिदानबाट प्राप्त भएको यो ऐतिहासिक निष्कर्षलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन । यसप्रति कुनै प्रश्नचिह्न उठाउनु हुँदैन । न्युज एजेन्सी नेपाल






